Breaking News
Home / Breaking News / आँपको व्यापारमा बिचौलियाको चलखेल

आँपको व्यापारमा बिचौलियाको चलखेल

सिरहा,१८ असार । आँप सङ्कलनको मुख्य केन्द्र मानिने लहानको आँप बजारमा यसपालि बिचौलियाको चलखेलका कारण आँपको मूल्य आकासिएको छ ।
आँपका जातहरूमध्ये सबैभन्दा मिठो मानिने माल्दह आँपको मूल्य अहिले लहानको बजारमा प्रतिकेजी ७० रुपियाँदेखि ८० रुपियाँसम्म पर्दछ तर केही दिनअगाडि सोही आँपप्रति केजी ५० रुपियाँमा बिक्री वितरण भएको थियो ।
नफल्ने वर्ष त्यसमाथि चर्को घाम र हावाहुरीका कारण यसपालि आँपको उत्पादनमा कमी आई आँपको मूल्य पोहोर सालको भन्दा केही महँगो हुने अनुमान पहिले नै थियो । असारको पहिलो सातामा चारैतिरबाट आँप सङ्कलन भएपछि आँपको मूल्य केही गिर्ने अनुमान थियो तर आँपको सङ्कलनमा वृद्धि भए पनि आँपको व्यापारमा बिचौलियाको चलखेल बढेपछि आँपको मूल्य आकासिएको हो ।
बिचौलियाले कृषकबाट एकैपटक हजारौँ दाना आँप सस्तो भाउमा लिएर खुद्रा व्यापारी र लहानभन्दा बाहिर पु¥याउने हुनाले आँपको मूल्य कृषकबाट हुँदै उपभोक्तासम्म पुग्दा तेब्बर गुणाले वृद्धि हुने गर्दछ । मेरो घरमै आएर तपाईंको सबै बोटको आँप मलाई दिनुस्भन्दा मैले इन्कार गर्न सकिन, लहान–१८ स्थित भदैयाको बडरबोनाकी सावित्रा मण्डलले भन्नुभयो, मेरो बारीमा रहेको सात÷आठवटा बोटको सबै आँप आठ सय सयकडाको दरले व्यापारीलाई बिक्री गरिदिएँ । तर पछि सोही आँप बिचौलियाहरूले बजारमा सय कडाको एक हजार छ सयमा बिक्री गरेको सुनेपछि मण्डल आश्चर्यचकित हुनुभएको थियो । असारको दोस्रो हप्ताको सुरुवाती दिनमा त माल्दह आँपको मूल्य दुई हजार चार सय सय कडासम्म पुगेको थियो ।
बिचौलियाले किसानबाट थोक रूपमा खरिद गरेको आँपहरूमध्ये काँचो अवस्थाको आँप काठमाडौँलगायत विभिन्न सहरमा पठाउने गर्दछन् भने पाकेको अवस्थाको आँप स्थानीय आँप बजारका खुद्रा व्यापारीहरूलाई दिने गर्दछन् । सर्वसाधारण उपभोक्ताले सोही खुद्रा व्यापारीबाटै आँप खरिद गर्नुपर्ने अवस्था छ ।
मौसमी फल र फलहरूमध्ये सबैभन्दा मिठो मानिने आँपको व्यापारमा समेत बिचौलियाहरूको चलखेल भएर आँपको मूल्य महँगिए पनि त्यसलाई नियन्त्रण गर्ने नियमनकारी निकायहरू अहिलेसम्म मौन रहेका छन् । आँपको वास्तविक मूल्य तोक्ने परिपाटी अहिलेसम्म नभएको हुनाले आँपको मूल्य नियन्त्रण गर्न नसकिएको सरोकारवाला निकायहरूको भनाइ छ ।
यसपालि आँपको उत्पादनमा कमी आउने भएकाले पोहोरसालको तुलनामा आँपको मूल्यमा केही वृद्धि हुने अनुमान त पहिले नै थियो, जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख प्रदीप ठाकुरले भन्नुभयो तर यसपालि त्यतिको महँगो होला भन्ने सोचेका थिएनौँ ।
हाम्रो काम भनेको उत्पादन बढाउनु हो, मूल्यमा के भइरहेको छ भन्ने कुराको खोजीतर्फ हामी प्रायः जाँदैनौँ, उहाँले भन्नुभयो, महँगी नियन्त्रण गर्ने कार्य त प्रशासनिक क्षेत्रबाट हुनुपर्छ ।

About admin

Check Also

happy

खुशी हुन त्यति गाह्रो छैन, यस्ता छन् सात शुत्र

काठमाडौं, ४ असोज । खुसी , जिन्दगीको लक्ष्य हो । जसले जीवनको जस्तोसुकै, जुनकुनै मोडहरुमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *