Home / टप स्टोरी / नेपालमा सहज प्रवेश खोज्दै उत्तर कोरिया

नेपालमा सहज प्रवेश खोज्दै उत्तर कोरिया

काठमाडौँ, ७ माघ​। उत्तर कोरियाले नेपाल आउने आफ्ना नागरिकले भिसा लिन झन्झट खेपेको भन्दै गुनासो गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले नेपाल आउन खोज्ने र नेपालमा व्यापार गर्दै आएका उत्तर कोरियालीलाई भिसा प्रक्रिया सरल बनाइदिन आग्रह गरेका हुन्।

गृहमन्त्री रामबहादुर थापासँग मन्त्रालयमा गत बिहीबार गरेको भेटमा राजदूत जोले उत्तर कोरियालीलाई भिसा लिन झन्झटिलो भएकाले प्रक्रिया सहज बनाइदिन आग्रह गरेका हुन्। संयुक्त राष्ट्र संघको बारम्बारको पत्राचारपछि गृहले उत्तर कोरियालीमाथि निगरानी बढाएको छ। गृहले उनीहरूलाई उद्योग सञ्चालनमा अझै रोक लगाएको छैन। प्रहरीको सीआईबी (केन्द्रीय अनुसन्धान ब्युरो) लेसमेत उत्तर कोरियालीको गतिविधि र उनीहरूले सञ्चालन गरिरहेका उद्योगमाथि निगरानी बढाएको छ।

उत्तर कोरियालीले नेपालमा अनअराइभल भिसा पाउँछन्। सरकारले पछिल्लो समय आईटी कम्पनी र रेस्टुरा खोल्न अनुमति दिँदै आएको छ। २०३१ जेठ २ मा नेपाल र उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो। उत्तर कोरियालीले तनहँुमा ‘ने कोर्यो’ अस्पताल र काठमाडौंका विभिन्न स्थानमा रेस्टुरेन्ट र आईटी कम्पनी चलाइरहेका छन्। अमेरिकाको भ्रमणका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग त्यहाँका विदेशमन्त्री माइक पोम्पेओले नेपालमा उत्तर कोरियालीको उपस्थिति र लगानीबारे जिज्ञासा राखेका थिए।

पुस पहिलो साता पत्नीसहित आएका राजदूत जोे राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजनीतिक भेटघाटमा व्यस्त छन्। भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ। राजदूत जोले गृहमन्त्री थापालाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका छन्।

जो यसअघि दक्षिण अफ्रिकाका लागि राजदूत थिए। अमेरिकासँगको वार्ता सकारात्मक भइरहेको दुवै पक्षले दाबी गरे पनि राष्ट्र संघले उत्तर कोरियाविरुद्ध लगाएका नाकाबन्दी कायमै राखेको छ। नेपालले राष्ट्र संघको सुरक्षा परिषद्का कतिपय निर्णय पालना गर्न उदासिनता देखाएको छ। त्यसबाट राष्ट्र संघ र नेपालस्थित अमेरिकी, जापानी, दक्षिण कोरियाली दूतावासका अधिकारी असन्तुष्ट रहेको परराष्ट्र स्रोतले जनाएको छ।

अघिल्लो साता नेपाल भ्रमण गरेका जापानी विदेशमन्त्री तारो कोनोले समेत नेपालमा उत्तर कोरियालीको लगानी र उनीहरूको बाक्लो उपस्थितिको विषयलाई लिएर गम्भीर चासो व्यक्त गरे। राष्ट्र संघीय मुख्यालयले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी पालना नगरेको भन्दै बारम्बार नेपालको ध्यानाकर्षण गराएको छ। सदस्य भएकाले उत्तर कोरियामाथि लगाएको नाकाबन्दीलाई नेपालले पूर्ण पालना गर्नुपर्ने राष्ट्र संघको धारणा छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा भएको वार्तापछि उत्तर कोरियाले नेपालमा लगानी ह्वात्तै बढाएको छ। उनीहरूले नेपाललाई लगानीका लागि सुरक्षित ठान्दै आएका छन्। राष्ट्र संघलाई उद्धृत गर्दै परराष्ट्र मन्त्रालयले गत साउन पहिलो साता पठाएको पत्रमा उत्तर कोरियालीको लगानीमा सञ्चालित उद्योग बन्द गर्नुपर्ने उल्लेख थियो। गत साउनमा पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका २ उत्तर कोरियाली युवती फेरि नेपाल पस्न खोजेपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फिर्ता गरेको थियो।
-अन्न्पुर्णपोष्ट बाट

About admin

Check Also

तिलकोठी तथा चाँया हटाउने फेसप्याक

तिलकोठीका लागि फेसप्याक बनाउँदा हरियो धनियाँको रसमा दुईदेखि चार थोपा कागतीको रस तथा तीनदेखि पाँच …

Leave a Reply

Your email address will not be published. Required fields are marked *