Home / टप स्टोरी / सर्लाहीमा हात्तीले मच्चायो आतंक

सर्लाहीमा हात्तीले मच्चायो आतंक

काठमाडौं , २३ असार । सर्लाहीको ईश्वरपुर क्षेत्रमा पुनः जङ्गली हात्ती देखा परेपछि स्थानीयवासी त्रसित भएका छन् ।
जिल्लाको उत्तर¬–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिकाको सागरनाथ वन विकास परियोजनास्थित जङ्गल क्षेत्रमा दुई दिनदेखि दुईवटा जङ्गली हात्ती देखा परेको हो । केही महिना अघि जङ्गली हात्तीले ईश्वरपुर नगरपालिकाको सागरनाथ, भक्तिपुर, गौरीशङ्करलगायतका क्षेत्रमा दर्जनौं घर भत्काएको थियो भने किसानले खेतबारीमा लगाएको बालीनाली नष्ट गरेको थियो । त्यसबेलाका पीडितले अझै राहत पाएका छैनन् ।
चैत वैशाखमा जङ्गलमा डढेलो लाग्न थालेपछि आफै बेपत्ता भएका हात्ती पुनः जङ्गल फर्किएपछि स्थानीय त्रसित भएका हुन् । शनिवार राती ईश्वरपुर नगरपालिका–२, राईटरखोर क्षेत्रमा देखा परेको हात्ती आइतवार राती ईश्वरपुर नगरपालिका–१३, गौरीशङ्करस्थित हरकठवा गाउँ नजिक सागरनाथ जङ्गलमा देखा परेको हो ।
आइतवार राती बरहथवाबाट जन्ती लिएर आएको बसलाई हात्तीले अवरोध गर्न खोज्दा केहीबेर खैलाबैला मच्चिएको थियो । बयलवासतर्फ आउने सडकमा निस्किएका दुईवटा हात्ती बसमा सवार जन्तीले हो–हल्ला गरेपछि जङ्गलतर्फ छिरेको स्थानीय स्वास्थ्यकर्मी नागेन्द्र यादवले जानकारी दिनुभयो ।
बीचमा केही समय हात्ती आतङ्क रोकिएपछि सामान्य बनेको सागरनाथ वन विकास परियोजना आसपासको जनजीवन पुनः हात्ती देखा परेपछि आतङ्कित बनेको छ । हात्ती बस्ती पस्ने त्रासले स्थानीय रातभर जागराम बस्न थालेका ईश्वरपुर नगरपालिका–२, का वडाध्यक्ष सुरेन्द्र कार्कीले बताउनुभयो । हात्तीका कारण स्थानीयवासी दुई दिनदेखि रातभर सुतेका छैनन्, वडाध्यक्ष कार्कीले भन्नुभयो, घाँसदाउराका लागि कोही पनि जङ्गल पस्न सकेका छैनन् ।

About admin

Check Also

भारी वर्षाले सुदूरपश्चिमको जनजीवन प्रभावित

काठमाडौं , २७ असार । असार महिना सकिनैलाग्दा सुदूरपश्चिम क्षेत्रमा भएको भारी वर्षाका कारण यस …

Leave a Reply

Your email address will not be published. Required fields are marked *